भोली रिलिज हुन लागेका २ फ्रेस नेपाली सिनेमाहरु सहित गएको आठ महिना भित्रमा ८३ वटा सिनेमाहरु प्रदर्शनमा आए । तर वितरकहरुबाट प्राप्त जानकारी अनुसार प्रदर्शनमा आएका सिनेमाहरु मध्ये जम्मा ३ वटाले मात्रै आफ्नो लगानी रिकभर गर्न सफल भएका छन् । यसर्थ प्रदर्शनमा आएका अन्य सबै सिनेमाहरु भने व्यापारिक रुपमा असफल सावित भए ।
वितरक माधव वाग्लेका अनुसार प्रदर्शन भएका सिनेमाहरु ‘विन्दास’, ‘अपवाद’ र ‘मालतीको भट्टी’ ले लगभग आफ्नो लगानी रिकभर गर्न सफल भए । तर ‘सायद’, ‘मायाज बार’ र ‘लंका’ जस्ता सिनेमाहरुले हलमा राम्रो व्यापार गरेपनि उच्च बजेटका कारण आफ्नो लगानी सेभ गर्न नसकेको उनले जानकारी गराए । त्यस्तै सिनेमा ‘मायाज बार’ का निर्माता समेत रहेका वितरक सुनिल मानन्धरले पनि ३ वटा सिनेमाहरुले मात्रै लगानी सेभ गरेको बताएका छन् । हलमा राम्रो व्यापार गरेतापनि हाई बजेटका कारण धेरै सिनेमाहरु घाटामा गएको उनको ठम्याइ छ ।
यही आठ महिनाको बिचमा प्रदर्शनमा आएका केही प्रतिक्षीत सिनेमाहरुले समेत व्यापारमा नराम्रोसँग घाटा वेहोर्नु पर्यो । जस्मा सुरज सुब्बा ‘नाल्बो’ निर्देशित सिनेमा ‘फेसबुक’ र सिजी ईन्टरटेनमेन्ट प्रिजेन्स ‘भिसा गर्ल’ सबैभन्दा बढि मारमा परे । त्यस्तै दशैको मौका छोपेर रिलिजमा आएका सिनेमाहरु ‘धुवाँ यो नशा’, ‘सो सिम्पल’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘लुट कम्पनी’ पनि व्यापार नगर्ने सिनेमामा काउन्ट हुन पुगे । दशैको लामो बिदामा रिलिज भएका यी सिनेमाहरुलाई सिने उद्योगले राम्रो कलेक्सन गर्ने आशा राखेको थियो । अर्कोतर्फ रिलिज पूर्व धेरै नै मिडिया हाईप गरिएको सिनेमा ‘हाइवे’ ले पनि हलमा कुनै तहल्का पिट्न सकेन । यस सिनेमाले आफ्नो लगानी त सुरक्षित गर्न सकेन नै साथमा समीक्षकहरुबाट समेत राम्रो प्रतिक्रिया पाएन ।
८ महिनाको बिचमा सिनेमा उद्योगमा निर्माताहरुले लगभग ४० करोड माथिको रकम सिनेमामा खन्याए । तर निर्माताहरुको यो लगानी २० प्रतिशत मात्र सेभ भएको वितरकहरु बताउँछन् । घाटाको यात्रा गरिरहेको सिनेमा उद्योग आगामी दिनमा भने कस्तो व्यापारिक दिशामा अगाडी बढ्ने हो त्यो भने भोली रिलिज हुने सिनेमाको कलेक्सनले नै बताउनेछ ।
Facebook
Twitter
RSS


