केहि दिन अगाडी मात्र राजधानीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा देखाईएको फिल्म सुनगाभाको धरानमा च्यारिटी गरिने भएको छ । धरान महिला शक्ति विकास समूहको सहयोगार्थ फिल्मको च्यारिटी गर्न लागिएको निर्देशक सुवर्ण थापाले जानकारी गराए ।

आगामी डिसेम्बर २८ तारिख अर्थात पौष १३ गते शुक्रबारका दिन धरानको गणेश टाकिजमा फिल्मको च्यारिटी गरिने छ । पौष २० गतेबाट देशभर एकसाथ सार्वजनिक प्रदर्शन हुन लागेको यो फिल्मको हेटौंडा र पोखरामा पनि च्यारिटी गरिने निर्देशक थापाले बताए । यता भारतको चेन्नाई ईन्टरनेशनल फिल्म फेस्टिभलमा सुनगाभा प्रदर्शन हुने भएकाले निर्देशक थापा भोली सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् । उक्त फेस्टिभल डिसेम्बर १३ तारिख देखि चलिरहेको छ ।

यस्तै भारतमै डिसेम्वरकै २० तारिखबाट सुरु हुने ‘ब्याङलोर ईन्टरनेशनल फिल्म फेस्टिभल’ मा पनि सुनगाभालाई देखाईने छ । चेन्नाईमा १८ तारिख र ब्याङलोरमा २१ तारिखमा सुनगाभा देखाएर निर्देशक थापा डिसेम्बर २२ तारिखका नेपाल आउने छन् र नेपाल रिलिजका लागि पब्लिसिटीमा जुट्नेछन् । नेपालमा फिल्म रिलिज गरे पश्चात निर्देशक थापा ११ जनवरीमा अमेरिका पुग्ने छन् । जनवरी ३ देखी १३ तारिखसम्म चल्ने क्यालिफोर्निया स्टेटको 'पाल्म स्प्रिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ मा यो फिल्मलाई जनवरी १२ तारिखका दिन देखाईने छ ।

समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथामा बनेको फिल्म 'सुनगाभा' ले यसअघि थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाई सकेको छ । फिल्ममा दिया मास्के, निशा अधिकारी र सौगात मल्ल मुख्य भुमिकामा छन् ।
 

 

Posts Relacionados